अछाम: अछामको साँफेबगर नगरपालिका-७, रिडीकोटस्थित मध्य-पहाडी लोकमार्गमा जीप दुर्घटना भएको छ।
बयालपाटाबाट बाजुरा तर्फ जाँदै गरेको लु १ ज ४७११ नम्बरको बोलेरो जीप ब्रेक फेल भएर सडकको नालामा बिहीबार दिउँसो पल्टिएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जीपमा चालकसहित ६ जना सवार थिए, जस मध्ये तीन जना घाइते भएका छन्।
घाइतेमध्ये बाजुराको त्रिबेणी नगरपालिका-६ निवासी १९ वर्षीया नन्दा बुढाको टाउको र मुखमा चोट लागेको र अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए।
यस्तै अन्य दुई जना घाइतेहरूमा बुढीगंगा नगरपालिका-४ निवासी २७ वर्षीय राजेन्द्र लुहार र निजका ६ वर्षीय छोरा सक्षम लुहार रहेका छन्। उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ।
घाइतेहरूलाई उपचारको लागि बयालपाटास्थित न्याय हेल्थ अस्पतालमा पठाइएको छ। सडकमा अवरोध नभएको र दुर्घटनाग्रस्त जीप घटनास्थलमै रहेको डीएसपी भण्डारीले बताए।
सो जीप बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ का २३ वर्षीय रोहित रावतले चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।