डोटी : डोटीको बडिकेदार गाउँपालिका– २ मा एक महिला मृत अवस्थामा फेला परेकी छन। सहजपुर–बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी हुन्।
बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर घर्तिमगरले ५५ वर्षीया भागादेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको बताए। उनी शनिवार (भाइटीकाको दिन) आफ्नो घरबाट माइती जाने क्रममा रहेको जनाइएको छ। उनी लामो समयदेखि उच्च रक्तचापले पीडित थिइन्। शरीरमा घाउ चोट पटक नदेखिएको र शव पोष्टमाटमका लागि धनगढी पठाइएको घर्तिमगरले बताए।
यस्तै कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्युु भएको छ।
घोडाघोडी नगरपालिका–१० को पहमानपुरमा सुदूरपश्चिम प्रदेश ०१०११प ४६४३ नम्बरको मोटरसाइकलले ठक्कर दिदा सोही ठाउँ बस्ने ५४ वर्षीया डम्मरा ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहोराले मोटरसाइकलको ठक्करबाट गम्भरी घाइते ओलीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्युु भएको बताए। उनका अनुसार मोटरसाइकल र चालक घोडाघोडी नगरपालिका–१ बस्ने २५ वर्षीय हेमन्त सापकोटालाई नियन्त्रण लिइएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।