काठमाडौं: डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनका लागि शैक्षिक ऋण दिने भएको छ।
चालु आर्थिक वर्षको विनियोजित बजेटबाट पालिकाभित्र स्थायी बसोबास गर्ने प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनरत विद्यार्थीलाई शैक्षिक ऋण दिन लागेको हो।
अध्ययनमा उत्कृष्ट र अति विपन्न परिवारका विद्यार्थीलाई पाँच लाख रुपैयाँ कर्जा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । यसका लागि नगरपालिकाले इच्छुक विद्यार्थीलाई आवेदन पेश गर्न आह्वान गरेको छ।
पालिकाको शैक्षिक ऋण दिनेसम्बन्धी निर्देशिका, २०८१ बमोजिम योग्यता पुगेका विद्यार्थीले आवश्यक प्रक्रिया पुर्याएर आजदेखि आगामी मंसिर २० गतेसम्म आवेदन फाराम बुझाउन सक्नेछन्।
दरखास्तका साथ नागरिकताको प्रमाणित प्रतिलिपि, ऋण लिन चाहेको तहभन्दा एक तहमुनिको सम्पूर्ण शैक्षिक प्रमाणपत्र, परिवारका सदस्यमध्ये कम्तीमा दुई जनाको मञ्जुरीनामा पत्र, वडा कार्यालयको सिफारिस र विद्यार्थी भएको प्रमाणित हुने सम्बन्धित शैक्षिक संस्थाको पत्र पनि पेश गर्नुपर्ने छ।