काठमाडौँ: सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजिव गुरुङ अर्थात् दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ। न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो।
उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो। सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो।
यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए। उनको मुद्दा सर्वोच्चमा २०७५ फागुन ३ गते सुरु भएको थियो। उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस ७६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न पत्र लेखेको थियो। त्यसपछि मनाङे जेल बाहिर रहेर मुद्दा लड्दै आएका थिए।
उनको समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। ज्यान मार्ने मनसायले आक्रमण गरिएको भन्दै मनाङेमाथि जिल्ला अदालत, उच्च हुँदै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।