बुटवल: रुपन्देहीमा सशस्त्र प्रहरी बल र राजश्व अनुसन्धानको टोलीमाथि एक समूहले आक्रमण गरेको छ।
सिमावर्ती क्षेत्रबाट अवैध चिनी बरामद गरेर फर्किरहेको बेलामा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलीमाथि आक्रमण भएको हो।
जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट सशस्त्र प्रहरी र राजश्वको टोलीले ११२ बोरा चिनी बरामद गरेको थियो।
उक्त चिनी लिएर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको हो।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनामा अवैध रुपमा नेपाल भित्रियाइ चिनी भण्डार गरी राखेको सूचना पाएपछि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो।
सो टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो।
रुपन्देहीमा पछिल्लो समय तस्करी अत्यधिक मौलाएको छ। केही महिना पहिले भैरहवा भन्सार कार्यालयको टोलीमाथि मर्चवारमा तस्करहरुले आक्रमण गरेका थिए। दशैंअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले राति कपडा र चिनी पक्राउ गरेको थियो।
रुपन्देहीको ५९ किलोमिटर सिमाना भारतसँग जोडिएको छ। खुल्ला सिमानाबाट प्रायः चिनी, कपडा, हार्डवेयरका सामान, चामल, कस्मेटिक आइटम, कुखुराको मासु व्यापक रुपमा तस्करी हुने गरेको छ। प्रहरी भने तस्करी नियन्त्रणमा चुकेको देखिन थालेको छ।