काठमाडाैं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले कैलालीको धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो बताएका हुन्।
सहकारीको रकम घोटाला प्रकरणमा एउटा पार्टीको सभापतिलाई राजनीतिक पूर्वाग्रह भएर पक्राउ गरियो भन्ने आरोप लागेको छ, यसमा कांग्रेसको प्रतिक्रिया के छ भन्ने प्रश्नमा देउवाले भने, ‘हाम्रा सांसदलाई मुद्दा चलाइयो। तर, हामीले कहिल्यै होहल्ला गरेनौँ। अदालती प्रक्रियामा गएको कुरा त अदालतले फैसला गर्ला।’
साथै देउवाले अहिलेको गठबन्धन पूरै कार्यकाल टिक्ने पनि दाबी गरे।
देउवा एक साताका लागि गृहजिल्ला डडेल्धुरा जाँदैछन्। देउवा भोलि गृहजिल्ला डडेल्धुरा पुग्ने कार्यक्रम छ। डडेल्धुरामा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सभापति देउवा सहभागी हुने कार्यक्रम तय भएको नेपाली कांग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदले बताए।