धनगढीः दार्चुलाको मालिकार्जुन जात हेरेर फर्किरहेको जिप दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय दार्चुलाले अहिलेसम्ममा २ जना भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो।
भारतको उत्तरप्रदेश राज्यको विजौर जिल्लाका ४५ वर्षका मोहम्मद सकिर, सोही ठाउँका १८ वर्षका मोहम्मद वसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर-५ का ३० वर्षका विरेन्द्र रावल र उनकी २८ वर्षीया श्रीमती शान्ति रावल, शैल्यशिखर नगरपालिका वडा नम्बर-९ का ४५ वर्षका दिलिप विष्ट, सोही ठाउँका ४५ वर्षीया मीना लेखक, बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर-५ का ४५ वर्षीय विरेन्द्र सिह बोहरा र सोही ठाउँका १५ वर्षीय सुजिब बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी प्रकाश दाहालले जानकारी दिए।
दुर्घटनामा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर-५ का ३५ वर्षका उत्तम रोकाया, दार्चुलाको मालिकार्जुन गाउपालिका-८ का चालक सुनील जोशी, शैल्यशिखर नगरपालिका-९ का ७ वर्षका सुमीत रावल र भारतीय नागरिक सोहील शाह गम्भिर घाईते भएका छन। शैल्यशिखर नगरपालिका-५ का प्रकाश सिह डाँगा भने सामान्य घाईते भएका छन्।
दाहालले चालक सहितका घाइते ४ जनालाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौं लैजाने गरी समन्वय भईरहेको बताए। दार्चुलाको मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो जिप शुक्रवार विहान ४ बजेतिर दुर्घटना भएको थियो। म १ ज ३३८ नम्बरको जिप ग्वानीको बजानी नजिक दुर्घटना भएको थियो। घाईते केहीलाई भने धनगढी ल्याएर उपचार थालिएको छ। उता मृतकहरुको शव जिल्लास्थित अस्पतालमै राखिएको जनाइएको छ।
जिप तीन सय मिटर तल भीरमा खसेर रुखमा अड्किएको छ। मालिकार्जुन जात्राबाट गोकुलेश्वर गइरहेको जिप हो । जिपमा तिर्थालु सवार थिए।