काठमाडौं: काठमाडौंमा हिजोदेखि ‘एपीएफ–एसएसबी आठौँ समन्वयात्मक बैठक’ सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन बैठक थालिएको हो।
सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा भोलिसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्त रूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलले जनाएको छ।
बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई बलियो बनाउन दुई निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदानप्रदान गर्ने बारेमा समेत छलफल हुनेछ।
बैठकमा सशस्त्र प्रहरी बलका तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतको सशस्त्र सीमा बलका तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।