धनगढी: कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जनाको हत्या गरिएको छ।
गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको बाख्रा चोरीको निहुँमा कुटपिट गरि हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए। कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको बोहराले जानकारी दिए।
उनकाअनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा–११ को कान्तिपुर बस्ने युवतीसहितका पाँच जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल(नाम परिवर्तन), २३ वर्षीय विशाल बिक र ३० वर्षीय धर्म बिक रहेको डीएसपी बोहराले बताए।
भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेको हो। उनीहरुमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरि मुद्दा चलाउने प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिएका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्यसमेत थिए।