कैलाली– यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनका लागि तोकिएका मतदानस्थलमा मतदान केन्द्र निर्माणलगायतको काम अन्तिम चरणमा पुगेको हो । जिल्लामा मतदानस्थलमा मतदान केन्द्र निर्माण, नयाँ मतदाताको परिचयपत्र वितरण र मतदाता शिक्षा दिनेलगायतका काम भइरहेको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ ।
तोकिएका मतदानस्थलमा मतदान केन्द्रको निर्माण कार्यका साथै नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदाता शिक्षा लगायतका काम अन्तिम चरणमा रहेको प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । उनले अधिकांश मतदान केन्द्रमा बुथ निर्माण भइसकेको र बाँकी रहेकाहरुमा बिहीबारसम्म निर्माण पूरा हुने बताए ।
जिल्लाका अधिकांश विद्यालयका भवनलाई मतदानस्थल र केन्द्र तोकिएको छ । जिल्लाका १३ पालिका तहमा कूल पाँच लाख २५ हजार १२५ मतदाता पुगेका छन् । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचनमा चार लाख तीन हजार २८० मतदाता थिए ।
पालिकाहरुमा निर्वाचनका क्रममा पालना गर्नुपर्ने विषयतका विषयमा छलफल गर्न सर्बदलीय बैठक पनि बसेका छन् । बैठकमा निर्वाचनस्थलमा भएको सर्वदलीय बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता, मतगणना कार्य र मतगणना प्रतिनिधिको नामावली लगायतका विषयमासमेत छलफल गरिएको छ । दलहरुले निर्वाचन आचारसंहिता पालना गर्न र गराउने विषयमा प्रतिबद्धता जनाएका छन् ।
निर्वाचन गराउन जिल्लाका सबै १३ पालिकामा झण्डै तीन हजार ९०० कर्मचारी परिचालन गरिएको निर्वाचन कार्यालय कैलालीले जनाएको छ । यी पालिका तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । कैलालीमा ५२ मतदानस्थललाई अति संवेदनशील, ५३ मतदानस्थललाई संवेदनशील र बाँकी १३१ मतदानस्थललाई सामान्य मतदानस्थलको सूचीमा राखेर सोही बमोजिमको सुरक्षा व्यवस्थापन गरिएको छ । कैलालीमा ६५६ पदका लागि तीन हजार ७२ जना प्रतिस्पर्धामा छन् ।