कञ्चनपुर– कञ्चनपुरमा निर्वाचनका तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा खटिइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भएको जिल्ला निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए ।
जिल्लामा कूल २ लाख ९५ हजार ३ सय ५४ जनाले मतदान गर्न पाउने छन् । जसमा केही बाह्य मुलुक समेत गएकाले सबै मतदाता निर्वाचनमा मतखसाल्न उपस्थित नहुँने जिल्ला निर्वाचन कार्यालयको आंकलन छ ।
निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले जिल्लामा करिब ७५ प्रतिशत मत खस्ने आँकलन गरिएको बताए ।
सात नगरपालिका तथा २ गाउँपालिकासहित नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गरी निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) तथा सत्तापक्षमै रहेको नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा उत्रिएका छन् ।