काठमाडौं: नेपाल प्रहरीकी एआइजी किरण बज्राचार्यको अवकाश मितिमा त्रुटि भएपछि सच्च्याइएको छ। प्रहरी किताबखानाले अवकाश मितिमा त्रुटि गरेकोमा सच्च्याइएको हो।
नेपाली र अङ्ग्रेजी मितिलाई रुपान्तरण गर्दा समस्या देखिएकाले अहिले त्रुटि सच्च्याइएको बज्राचार्यले जानकारी दिइन्।
यस अगाडि उनलाई किताबखानाको मितिमा त्रुटि देखिएर एक महिनाअघि नै अवकाश दिन लागिएको थियो।किताबखानाले उनलाई १६ पुसमा अवकाश हुनुपर्नेमा मंसिरमै अवकाश हुने पत्र दिएको थियो।
तर सो त्रुटि पछि सच्च्याइएको छ। उनको जन्म मिति ३१ डिसेम्बर हुनुपर्नेमा १ डिसेम्बर भनेर गलत विवरण परेकाले त्रुटि भएको थियो।
बज्राचार्य हाल उपत्यका प्रहरी कार्यालयको प्रमुख छिन्। यसअघि उनी सिआइबी प्रमुख थिइन्। यस्तै उनीसँगै अबको एक महिनाभित्र नेपाल प्रहरीका तीन एआइजी र दुई डिआइजीले अबकाश पाउँदैछन्।
आगामी २२ मंसिरमा एआईजी केदार ढकाल तथा २८ मंसिरमा भीमप्रसाद ढकालले अवकाश पाउनेछन्। उनीहरू सबै हालका आईजी वसन्तबहादुर कुँवरका ब्याची हुन्। उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।
प्रहरी नियमावली २०७१ अनुसार प्रहरीको ३० वर्षे सेवा अवधि भए पनि उनीहरू एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अकाशमा जाने भएका हुन्।
उत ३० मंसिरमा डिआइजी अर्जुन चन्द ठकुरीले पनि अवकाश पाउनेछन्। त्यस्तै, १४ पुसमा डिआइजी भरतबहादुर बोहराले अवकाश पाउने छन्।
यद्यपि उनीहरू अवकाशअघि एआइजी बढुवाको प्रतिस्पर्धामा छन्।