काठमाडौं: अमेरिकामा भएको बहुचर्चित ममता काफ्ले प्रकरणमा त्यहाँको प्रहरीले उनका पतिमाथि हत्याको अभियोग लगाएको छ। यस अगाडि ममता बेपत्ता भएको भन्दै खोजतलास तथा अनुसन्धान गरिरहेकोमा प्रहरीले उनको हत्या भएको भन्दै १२५ औं दिनपछि उनका पति नरेश भट्टमाथि प्रहरीले हत्याको अभियोग लगाएको हो।
यसअघि शव लुकाएको आरोपमा अगस्त २२ मा पक्राउ परेका नरेशमाथि हत्याको अभियोग लाग्ने वा नलाग्ने अन्यौल थियो। तर अब प्रहरीले हत्याको अभियोग लगाएपछि भने उनी हिरासतमुक्त हुने संभावना समाप्त भएको छ।
२९ जुलाई (साउन १६ गते) अमेरिकाको भर्जिनियाको मनसासस्थित घरबाट बेपत्ता भएकी काफ्लेको हत्या भएको पुष्टि गर्दै उनका पति नरेशलाई गत सोमबार ग्रान्ड जुरीले हत्याको अभियोग लगाएको जनाएको छ।
मानासस पार्कका प्रहरी प्रमुख मारियो लुगोले सोमबार राति पत्रकार सम्मेलनमा सुत्ने कोठा र स्नानगृहमा भेटिएको रगत ममताको डीएनएसँग मेल खाएको जानकारी दिए।
उनको शव अझै फेला परेको छैन। शव फेला नपरेपनि ममताका पति नरेशमाथि हत्याको अभियोग लगाईएको हो।
नरेश भट्टलाई सोमबार बिहान प्रिन्स विलियम काउन्टीको निर्णायक मण्डलले नरेशमाथि हत्या र शवलाई शारीरिक रूपमा अपवित्र गरेको दुई वटा आरोपमा अभियोग लगाएको छ।
प्रहरीले शयनकक्षमा हत्या गरिएकी ममताको शवलाई बाथरुममा तानेको आशंका गरेको छ। ममताको हत्या २९ जुलाईको राती र ३० जुलाईको बिहानको बीचमा भएको प्रहरीको अनुमान छ।
हत्यापछि ममताको शव टुक्रा टुक्रा पारिएको प्रहरीको आशंका छ। बाथरुममा फेला परेको रगत ममताको डिएनएसंग म्याच भएपछि प्रहरीले नरेशमाथि हत्याको अभियोग लगाएको हो।
३० जुलाईमा नरेश भट्टले स्यानटिलीको वालमार्टबाट तीनवटा चक्कुहरू खरीद गरेका थिए। जसमध्ये दुईवटा फेला परेनन। चक्कु खरीद गरेको भोलिपल्ट उनले अर्को वालमार्टबाट सफाई आपूर्तिहरू खरिद गरेका थिए। अभियोजनकर्ताहरुले त्यही आधारमा नरेशले ममता हत्यापछि उनको शरीरको टुक्रा टुक्रा बनाएर फालेको आशंका गरेका थिए।
त्यस्तै अप्रिलमा नरेशले आफ्नो ल्पापटपमा श्रीमती मरेपछि बिबाह गर्न लाग्ने समय र श्रीमतीको ऋणका बारेमा गुगलमा खोजी गरेका थिए।
को हुन् नरेश भट्ट ?
सुदूरपश्चिम कञ्चनपुरको बेल्डाडीका नरेश भट्ट मेडिकल रिप्रेजेन्टिटिभ (एमआर) को काम गर्थे। सोहीक्रममा २०६९ सालमा धनगढीमा सेती प्रादेशिक अस्पताल अगाडि हरी गौतमसंग मिलेर नमूना मेडिकल हल सञ्चालनमा ल्याए। २०७० सालमा हरी गौतम डिभी परेर अमेरिका गए। त्यतिबेलासम्म स्वर्गदारी र नमूना मेडिकल हल छुट्टाछुट्टै सञ्चालनमा थिए। तर दुईटै पसलको ल्याव एउटै थियो।
गौतम अमेरिका गएपछि नरेशले त्यसपछि टेक बहादुर साउँद र सुरेश पुरी मिलेर संयुक्त रुपमा जनता स्वर्गद्धारी क्लिनिक सञ्चालन गरे। त्यसैबीच उनलाई सात लाख रुपैया घोटाला गरेको आरोप लाग्यो। र, उनले त्यो रकम तिरे। त्यसको एक वर्षपछि २०७२ मा डिभी परेर नरेश अमेरिका गए।
उनी अमेरिका पुगेपछि त्यहाँको सेनामा भर्ना भए। केही वर्ष अमेरिकी सेनामा रहेर काम गरे। तीन वर्षअघि काभ्रेकी ममता काफ्लेसंग बिबाह गरे। बिबाह गरेको केही समयपछि नै उनीहरुबीच खट्पट शुरु भएको बताईन्छ। त्यहीक्रममा नरेशले ममताको हत्या गरेको बताईएको छ। उनीहरुकी एक वर्षीया छोरी छन्।