धनगढी: कञ्चनपुरमा भएको दम्पती हत्या प्रकरणमा पक्राउ परेका अन्दाजी ५० वर्षीय गङ्गाराम रानामाथि प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ। हिजो (बुधबार) चौधरीलाई पक्राउ गरिएकोमा आज उनीमाथि म्याद थप गर्ने तयारी गरिएको हो।
हत्या आरोपितले अभियोग स्वीकार गरेपछि थप अनुसन्धान थालिएको र आज अदालतबाट म्याद थप गरिन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशीले महेन्द्रनगरपोष्टलाई बताए।
उनका अनुसार १२ बजे राति घटना मदिराका कारण घटेको देखिएको छ। जसबारे थप अनुसन्धान गरिदै छ। सो घटना झण्डै डेढ महिना समय लगाएर प्रहरीले अनुसन्धान गरेपछि केस सुल्झिएको हो।
गत महिनाको ८ गते राति घटना घटेकोमा तत्कालै प्रहरीले अनुसन्धान थालेको थियो। उच्च प्रहरी स्रोतका अनुसार प्रहरीले महिना दिन पछिको अनुसन्धानबाट लालझाडी गाउँपालिका वडा नम्बर २ का चौधरीलाई हत्या आरोपमा पक्राउ गरेको हो।
स्रोतका अनुसार उनले हत्या गरेको स्वीकार गरेका छन् भने घटनामा प्रयोग गरिएको हतियारको खोजीमा प्रहरी लागेको छ। घटना मदिराका कारण घटेको र विस्तृत विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
यस अगाडि प्रहरीलाई चुनौतीपूर्ण मानिएको सो घटनाको अनुसन्धानका लागि सिआईबीको टोली पनि घटनास्थलमा खटिएको थियो। सो टोलीले प्राविधिक रुपमा समेत अनुसन्धान गरेको थियो।
जसका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का दुईजना प्रहरी कर्मचारी घटनास्थलमा पठाइएका थिए। जसको नेतृत्व वरिष्ठ सई सुर्यभक्त श्रेष्ठले गरेका थिए।
त्यस अगाडि पनि सो घटनाको अनुसन्धानका लागि छानबिनका काबिल मानिने सई पदम थापालाई त्यहाँ पठाइएको थियो। त्यस अगाडिदेखि जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीको टोलीसहित, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआईटी टोली, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको अनुसन्धान टोलीले पनि घटनाको अनुसन्धान गरेका थिए।
गत कार्तिक महिनाको ८ गते राति लालझाडी गाउँपालिका–१ बिनावारीका ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमलाको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
मृतक बडायक दम्पती लामो समयदेखि नास्ता पसल चलाउँदै आएका थिए। गाउँको घरभन्दा करिब साढे एक किलोमिटर टाढा उनीहरूले मदिरासहितको नास्ता पसल चलाउँथे। उनीहरू पसल रहेको घरमा बस्ने गरेका थिए।
हत्यापछि रमेशको शव आँगनमा भेटिएको थियो भने उनकी श्रीमती कमलाको शव नजिकै बरन्डामा भेटिएको थियो। कमलाको शव सुत्ने ओछ्यानको नजिकै झुलमा रक्ताम्य अवस्थामा भेटिएको थियो। प्रहरीको प्रारम्भिक अनुसनधानबाट उनीहरुको बीभत्स हत्या भएको खुलेको थियो।
र, यो पनि: BREAKING: कञ्चनपुरमा दम्पती हत्या प्रकरण: हत्या आरोपित पक्राउ, सार्वजनिक गर्ने तयारी