काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्स सूदुरपश्चिम रोयल्ससँग पराजित भएको छ। लगातार चार खेल जितेको जनकपुरले आज भएको पाँचौं खेलमा पहिलो हार व्यहोरेको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रनमा समेटियो। जारी एनपीएलमा यो सबैभन्दा कम स्कोर हो।
जनकपुरलाई सस्तैमा रोक्न सुदूरपश्चिमका हरमित सिंह, ईशान पाण्डे र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए। नरेन साउद, सैफ जैव र स्कट कुग्लेजिनले हसमानको नाममा एक-एक विकेट रह्यो।
जोसुवा ट्रम्पले १३ रन बनाउनुबाहेक जनकपुरका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यसो त सुदूरपश्चिमको पनि ब्याटिङ निराशाजनक थियो । पहिलो विकेटका लागि ओपनर सैफ जैव र विनोद भण्डारीले ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत गरेका थिए। तर, मध्य र तल्लो क्रमका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा १२४ रनको मध्यम लक्ष्य प्रस्तुत गर्यो।
जनकपुरका लागि किशोर महतो एक्लैले ४ विकेट लिएका थिए। तर, लक्ष्य जोगाउने क्रममा उसले बलिङमा गतिलो कमब्याक गर्दै जनकपुरलाई ५१ रनमा अलआउट गरेको हो। ७२ रनको फराकिलो अन्तरले पराजित भएसँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लाग्दा सुदूरपश्चिम अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ।