काठमाडौं: काठमाडौँ महानगरपालिका-१६, ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टीलमा नेपाली जुवाडेले प्रवेश पाइरहेको खुलेको छ। केही समयदेखि अवैध रुपमा नेपाली जुवाडेले खुलेआम प्रवेश पाइरहेको खुलेको हो।
स्रोतका अनुसार जुवाडेहरु नक्कली भारतीय आधार कार्ड र भोटर कार्ड प्रयोग गरी प्रवेश गर्ने गर्दछन्। उता काठमाडौंको होटल सोल्टीस्थित माजोङ क्यासिनोमा पनि महिनौंदेखि नेपाली जुवाडेहरु प्रवेश गरिरहेका छन्। क्यासिनोले नै नक्कली भारतीय परिचयपत्र बनाएर छिराउने गरेको बताइन्छ।
तर, कालिमाटी प्रहरीले सेटिङमा माजोङलाई लाइन खाएर जोगाउदै आएको छ। अहिले पनि माजोङले दिनहुुँ नेपाली जुवाडे छिराइरहेको छ।
माजोङमा सेटिङ चलेकै बेला ठमेलको क्यासिनो वाल्डोमा भने उपत्यका अपराध अनुसन्धान प्रहरीले भने छापा मारेको छ। जसक्रममा प्रहरीले हिजो आइतबारमात्रै नेपाली जुवाडेलाई खेलिरहेको अवस्थामा एकजना नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
मंसिर २३ गते काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवनका ३७ वर्षीय विशाल बर्तौलालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका बर्तौला चितवनको राप्ती नगरपालिका–१ स्थायी वतन भई हाल काठमाडौँ, रातोपुलमा बस्दै आएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सानुराम भट्टराईले महेन्द्रनगरपोष्टलाई बताए।
प्रहरी अनुसन्धानका क्रममा, उनले रमेश गुप्ता नामको नक्कली भारतीय आधार कार्ड र भोटर कार्ड बनाएर क्यासिनो प्रवेश गरेको पुष्टि भएको छ।
अहिले बर्तौलालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।
नेपालका क्यासिनोहरूमा नेपाली नागरिकलाई प्रवेश निषेध भए पनि नक्कली कागजातको प्रयोग गरेर प्रवेश गर्ने क्रम बढ्दै गएको छ। यस घटनाले क्यासिनोहरूमा निगरानी र कडाइ आवश्यक रहेको देखाएको छ।
क्यासिनो नियमावलीले कुनै पनि नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा रोक लगाएको छ। तर पनि नेपालीहरु क्यासिनोमा जाने क्रम अझै रोकिएको छैन।