काठमाडौं: एनपीएल क्रिकेटको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। बुधबार भएको खेलमा जनकपुरलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेकाे हो।
अब फाइनलमा पुग्न जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ।
जनकपुरले दिएको १४० रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। सुदूरपश्चिमको जितमा ओपनर विनोद भण्डारीले अर्धशतकीय पारी खेले। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन जोडे। एनपीएलमा उनको यो पहिलो अर्धशतक हो।
अर्का ओपनर सैफ जैबले ३२ र ब्राण्डन म्याकमुलनले २५ रन जोडे। कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।
जनकपुरका लागि किशोर महतो र ललित राजवंशीले १–१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। जनकपुरका लागि जेम्स निशमले विस्फोटक पारी खेले। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन जोडे। शुभ कंसाकारले २६, अरनिको यादवले ११, लाहिरु मिलान्थाले १२, हर्ष थाकेरले १२ र कप्तान आसिफ शेखले ११ रन बनाए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले तीन तथा सैफ जैबले २ स्कट कुग्गेलिजन र अविनाश बोहराले एक/एक विकेट लिए।