काठमाडौं: नेपाल–भारत जोड्ने गरी दार्चुलामा निर्माण भएको मोटरेबल पुल सञ्चालनका लागि भारतको पिथौरागढमा बैठक बसेको छ। सोमबार पिथौरागढका प्रमुख जिल्ला अधिकारी विनोद गोस्वामीको अध्यक्षता बसेको बैठकले पुल चाँडै सञ्चालन गर्ने निर्णय गरेको छ।
दार्चुलाको असिगडामा नेपाल–भारत जोड्ने ११० मिटर लम्बाइको सो मोटरेबल स्टिल ब्रिज निर्माणको काम सकिएपछि सञ्चालनका लागि बैठक बसेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिए। पुल निर्माणको काम भारतीय पक्षले गरेको हो।
नेपालसँग समन्वय गरेर केही महिनाभित्रै पुल सञ्चालनमा आउने आर्यले जानकारी दिए। दार्चुलाको महाकाली नगरपालिका–८, असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला तहसिल बलुवाकोटनजिकको छारछुम क्षेत्र जोड्ने मोटरेबल पुल सञ्चालन हुने भएपछि दुवै देशका नागरिक खुसी छन्।
भारतीय कम्पनी पी एन्ड आर इन्फ्रा प्रोजेक्ट लिमिटेड पन्जाबले पुल निर्माणको ठेक्का पाएको थियो। पुलको लागत ३२ करोड ९८ लाख भारतीय रुपियाँ रहेको भारतीय सञ्चारकर्मी आर्यले बताए।
उनले भने, “पिथौरागढमा बसेको बैठकमा लोक निर्माण विभाग, एसएसबी, भन्सार विभाग, वन विभाग र प्रहरी अधिकारी सहभागी थिए। पुल सञ्चालनका लागि सीमा सुरक्षा बल, प्रहरी चेकपोस्ट, भन्सार कार्यालयका कर्मचारी राख्नेलगायतका विषयमा छलफल भएको छ। पुल सञ्चालनका लागि नेपालसँग समन्वय हुने छ।”
सञ्चारकर्मी आर्यका अनुसार बैठकमा प्रमुख जिल्ला अधिकारी गोस्वामीले पुलमा बेरियर र गेट निर्माणका लागि निर्देशन दिएको छ। पुल निर्माण सम्पन्न भएपछि नेपाल–भारत दुवै देशका धार्मिक, पर्यटकीय क्षेत्र र व्यापार व्यवसायमा टेवा पुग्ने छ। पुल निर्माण सकिएपछि नेपालतर्फको १५० मिटर सडक सम्याएर स्तरोन्नतिको काम भइरहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।
प्रजिअ जोशीले पुल सञ्चालका लागि दुई देशका उच्च अधिकारीले संयुक्त रूपमा उद्घाटन गरेपछि सञ्चालनमा आउने बताए । उनले पुलमा छिट्टै नेपालतर्फ सुरक्षाकर्मीको चेकपोस्ट बस्ने बताए।
यो पुलबाट भारतको धार्चुला हुँदै पिथौरागढ, हलद्वानी भएर टनकपुर र भारतको राजधानी नयाँ दिल्लीसम्म पुग्न सकिने छ। त्यसै गरी नेपालतर्फको दार्चुलास्थित मालीकार्जुन धाम, अपिनाम्पा, बैतडीको त्रिपुरासुन्दरी, पाताल भूमेश्वर गुफालगायतका क्षेत्र हुँदै भारतीय पर्यटक कैलाली र कञ्चनुरसम्मको यात्रा गाडीमै गर्न सक्ने छन्।