धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका–१ ढुन्ढुने बजारबाट उद्धार गरिएको चितुवालाई कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पठाइएको छ। डिभिजन वन कार्यालय डडेल्धुराले नियन्त्रणमा राखेको उक्त चितुवालाई प्राथमिक उपचार गरेर कञ्चनपुर पठाएको हो।
वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको उद्दार टोलीले चितुवाकाे प्राथमिक उपचार गरेको थियो। त्यसपछि डार्ट गरेर चितुवालाई उपचार तथा व्यवस्थापनका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरमा कार्यरत कर्मचारी र कार्यालयका फरेष्टर ओमबहादुर साउँदमार्फत पठाइएको उनले बताए।
हिजाे(मंगलबार) अपरान्ह २ बजेको आसपास ढुन्ढुने बजारमा उक्त चितुवा देखिएको थियाे। स्थानीयको सूचनापछि डिभिजन वन कार्यालय डडेल्धुराले स्थानीय र प्रहरीको सहयोगमा चितुवाको उद्वार गरिएको थियो।
यसैबीच हिजो नै गन्यापधुरा गाउँपालिकास्थित रडुवाखोला क्षेत्रमा पनि चितुवा देखिएको थियो। डोटीको दिपायलबाट फर्किरहेका यात्रु हुकुम डाँगीले उक्त चितुवा नालीमा देखेका थिए।
उक्त क्षेत्रमा पनि चितुवा देखिएकाले स्थानीय तथा यात्रुलाई सावधानी अपनाउन वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहले आग्रह गरेका छन्।