काठमाडौं: नेपाल प्रहरीमा सरुवा बढुवामा दबाब दिने प्रचलन बढ्दै गएको छ। जसले गर्दा नेतृत्व नै पेन्डुलम बनिरहेको छ भने प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर हैरान भएका छन्।
त्यसकै कारण राजनीतिक लबिङ गरेर अनावश्यक दबाब दिने प्रहरीलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सर्कुलर जारी गराएका छन्।
प्रहरी महानिरीक्षकको सचिवालयबाट बुधबार जारी भएको सर्कुलरमा आफ्नो पदीय दायित्वअनुसारको काम नगरी व्यक्तिगत स्वार्थपुर्तिका लागि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी आफ्नो जिम्मेवारीप्रति उदासिन रहेन गरी भएका गैरव्यावसायिक क्रियाकलापहरूप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।
त्यस्ता प्रहरीलाई विभागीय कारबाही गरिने चेतावनी महानिरीक्षक कुँवरले दिएका छन्।
केही महिनाअघि पनि प्रहरी महानिरीक्षक कुँवरले यस्तै परिपत्र जारी गराएका थिए। तर, कारबाही हुन नसक्दा चेन अफ कमाण्डविपरीतका गतिविधि रोकिएका छैनन्।
अहिले एआईजी, डीआईजी, एसएसपी बढुवा तथा सरुवामा व्यापक चलखेल भैरहेको बुझिएको छ।