धनगढी: सुदूरपश्चिमको पहाडमा भूकम्प गएको छ। बाजुरामा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुरालाई केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका जिल्लाहरूमा महसुस भएको थियो।
यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।
बाजुरामा आज बिहानै गएको भूकम्पका कारण विभिन्न ठाउँमा भौतिक क्षति पुगेको छ।
भूकम्पले बाजुरामा कतिपय घर भत्किएका छन्। मानवीय क्षति भने भएको छैन। भौतिक क्षतिको विवरण संकलन गर्ने क्रम जारी छ।
बूढीनन्दा नगरपालिकाको कोल्टीमा एक घरमा क्षति पुगेको बाजुरा प्रहरीले जनाएको छ। भूकम्पले क्षति पुगेको उक्त घरमा बसोबास गर्ने तीन जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको छ।
बूढीनन्दा नगरपालिकाको अन्य ठाउँमा पनि भूकम्पले जीर्ण घर भत्किएका छन्।