धनगढी: कञ्चनपुरमा सामाजिक सञ्जाल फेसबुकबाट युवतीलाई प्रेमजालमा पारेर अमेरिकाको भिजाको प्रलोभजन देखाएर नक्कली विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरको वेदकोट नगरपालिका–२ का जनकबहादुर धामी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले उनीहरु दुवै जनालाई २५ मंसिरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए। उनकाअनुुसार ठकुल्ला थरकी युवतीलाई सामाजिक सञ्जाल फेसबुकबाट प्रेममा पारेर ३१ वर्षीय मालीले २३ मंसिरमा महेन्द्रनगरमा विवाह गरेका थिए।
नातामा मालीका भिनाजु पर्ने धामीले उनीहरुको विवाह गराउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। तर अमेरिकाको भिजा लागेको र आफू इन्जिनियर भएको बताउँदै विवाह गरेका माली सहचालक र घरमा श्रीमती रहेको थाहा पाएपछि पीडित युवतीका परिवारले उनीविरुद्ध बहुविवाहको मुद्दा दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस्तो छ, घटनाक्रम
डडेल्धुराको भागेश्वर गाउँपालिका–४ का ३२ वर्षीय विष्णुप्रसाद माली र कञ्चनपुरकी ३१ वर्षीया ठकुल्ला थरकी युवतीबीच सामाजिक सञ्जाल फेसबुकमार्फत चिनजान हुन्। पेशाले सहचालक रहेका मालीले युवतीलाई प्रेम गर्ने भन्दै फकाउन थाल्छन्।
युवकले आफू अविवाहित भएको बताउँछन्। कुरा यतिकै रोकिदैन्। उनी आफू पेशाले इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेकाले चाडो विवाह गर्न दबाब दिन्छन्। करीब तीन महिनादेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न युवती तयार हुन्छिन्।
मालीले बुवा आमासहित परिवारका अन्य सदस्य पनि नक्कली खडा गर्छन्। भिनाजु नाता पर्ने धामीलाई युवतीको परिवारसँग भेट गराएर हात माग्न पठाउँछन्। सो क्रममा धामीले पनि माली इन्जिनियर भएको र अमेरिकाको भिसा लागिसकेकाले केही दिनमा उड्ने बताउँछन्। विवाह गरेर दुलहीलाई पनि उतै लैजाने बताएपछि युवतीका आमाबुवा पनि तयार हुन्छन्।
कतिसम्म भने परिवारका कुनै पनि सदस्यलाई जानकारी नदिएर युवती २३ मंसिरमा महेन्द्रनगरको चेतन होटलमा आफ्नो विवाह सम्पन्न गर्छन्। प्रहरीकाअनुसार उनले आफ्नो काकाको स्वास्थ्य अवस्था निकै जटिल भएकाले दुःखद खबर आउने भन्दै हतारहतारमा विवाह गराएका थिए। विवाहमा मालीकातर्फबाट धामीसहित ५-७ जना साथीभाइ मात्र सहभागी भए।
टिकटकको भिडियोले खुल्यो पोल
२३ मंसिरमा युवतीका परिवारलाई समेत विश्वासमा लिएर दोस्रो विवाह गरेका धामी विवाहित भएको कुरा कसैले चाल पाएका थिएनन्। विवाह सकेर दुलहीलाई लिएर धनगढी आएका माली २५ मंसिरमा डडेल्धुरा जादै थिए।
तर युवती पक्षले सामाजिक सञ्जाल फेसबुक र टिकटमा दुवै जनाको विवाहका भिडियो अपलोड गर्दै बधाई दिइरहेका थिए। टिकटकमा सार्वजनिक भएको भिडियो मालीकी श्रीमतीसम्म पुग्छ। प्रहरीकाअनुसार उनकी श्रीमतीले टिकटकमै मालीको श्रीमती आफू भएको बताउँछिन्।
मालीको पहिलो श्रीमती टिकटकमा आएपछि दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अच्चममा पर्छन्। सोधीखोजी गर्दा माली साँच्चिकै विवाह भएको थाहा पाएपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले मालीलाई डोटीको बुडरबाट पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) उमेशराज जोशीले यो प्रकरणमा मालीको नक्कली बुवा बनेर युवती पक्षसँग कुराकानी गर्ने व्यक्तिलाई समेत पक्राउ गरेर अनुसन्धान गरिने जानकारी दिए। माली र धामीविरुद्ध बहुविवाह मुद्दा दर्ता गरेर अदालतबाट दोस्रोपटक म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
र, यो पनि: डडेल्धुराका विष्णुले अमेरिकाको भिजाको प्रलोभन देखाएर ‘नक्कली’ बिहे गरेपछि…