धनगढी: कैलालीमा थुनामुक्त गरिदिन्छु भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ परेका छन्।
हिजो (शुक्रबार) साँझको समयमा यसरी घुस खाने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ बाट लागुऔषध मुद्दामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका एक जना थुनुवालाई थुनामुक्त गरादिन्छु भन्दै थुनुवाका परिवारका सदस्यहरुबाट ३९ हजार ५ सय भारु लिने व्यक्ति पक्राउ परेका हुन्।
गौरीगंगा नगरपालिका–७ का २९ वर्षीय रुपक साउँद, सोही स्थानका २२ वर्षीय रमेश साउँद १९ वर्षीय हर्क साउँद पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए।
उनका अनुसार तिनीहरूले नक्कली मिसिल र कागजात पनि बनाएका थिए। उनीहरूले लागुऔषध मुद्दामा प्रहरी हिरासतमा रहेका थुनुवालाई थुनामुक्त गरिदिने भन्दै तीनै जनाले रकम मागेको उनले बताए।
अहिले तीनै जनालाई नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई भएको समेत खुल्न आएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।