काठमाडौं: नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले केपी ओली नेतृत्वको सरकार फेर्न नेपाली कांग्रेसका नेताहरुले प्रस्ताव ल्याइरहेको खुलासा गरेका छन्।
रुकुम पूर्वको भूमे गाउँपालिकामा पार्टीको अधिवेशन उद्घाटन गर्दै उनले सरकारप्रति जनतामा घृणा बढ्दै गएकाले कांग्रेस नेताहरुले विकल्पमा प्रस्ताव ल्याएको बताएका हुन्। एमालेका नेताहरु पनि माओवादीसँग सहकार्यका लागि छलफलमा रहेको पुनले दावी गरे।
‘एमालेका नेताहरु आएर बीआरआई पनि भयो अव कम्युनिष्टहरु मिलौं भन्नेजस्तो कुरा गरेर कांग्रेस तर्साउन खोज्नुहुन्छ’, उनले भने, ‘कांग्रेसका नेताहरु आएर कतिन्जेल बोक्ने हो ? एमालेको, ओलीजीका हप्तैपिच्छे एउटा–एउटा काण्ड आउँछ, हामी कति दिन बोक्ने हो ? भन्नुहुन्छ।’
तर, माओवादी आगामी २०८४ सालमा हुने चुनावसम्म सरकारमा नजाने पुनले स्पष्ट पारे। कांग्रेस र एमालेभन्दा फरक देखिन पनि माओवादी सरकारबाहिर रहनुपर्नेमा उपमहासचिव पुनको जोड छ।