धनगढी: आज पुस १५, सुदूरपश्चिम प्रदेशमा पुसे पन्ध्र पर्व मनाइँदै छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र पर्व सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो।
‘आजको रातलाई सबैभन्दा ठुलो मान्ने चलन यहाँ छ,’ उनले भने, ‘रातभर आगो बालेर जाग्राम बस्ने चलन छ। मिठा परिकार पनि खाने चलन छ। तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ।’
डा. जोशीका अनुसार डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रुपमा पनि पुसे पन्ध्र पर्वलाई लिने गरिन्छ। ‘यो पर्वमा कतै १५ हात लामो काठ जलाएर आगो ताप्ने परम्परा छ भने कतै १५ प्रकारका परिकार खाने पनि चलन छ,’ उनले भने।
यो पर्वमा रातभर नसुत्ने परम्परा रहेको हुँदा रात काट्नैका लागि कुनै गाउँमा डेउडा खेल्ने चलन पनि रहेको छ। आजको दिन सुदूरपश्चिममा घाँस काट्ने हँसिया, दाउरा चिर्ने बञ्चरो नचलाउने चलन रहेको छ।
डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ। पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ। आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ।
यस्तै पुस पन्ध्रपछि जाडो सकिँदै जाने जनविश्वासका कारण परम्परागतकाल देखिनै कञ्चनपुरसहित बैतडी, दार्चुला, डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, कैलाली, कञ्चनपुर र भारतको कुमाउ गढवाल क्षेत्रमासमेत रातभरि जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीत गाएर पुसे पन्ध्र मनाउने गरिन्छ। यस बेलादेखि सूर्य उत्तरायण हुने भएकाले दिन लामा र रात छोटा हुने गर्दछन्।