काठमाडौं: काठमाडौँको गौशालास्थित होटलमा हिजो मृत भेटिएकी युवतीको हत्या भएको खुलेको छ।
कागेश्वरी मनोहराकी २१ वर्षीया सुस्मिता खड्का हिजो बागमती होटलको कोठा नं ३०८ मा मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धानबाट उनको हत्या प्रेमी देवबहादुर थापाले गरेको निश्कर्षमा प्रहरी पुगेको हो।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार अंग्रेजी नयाँ वर्ष मनाउन उनीहरु मंगलबार बिहान होटलमा गएका थिए। होटल पुगेको केहीबेरमा थापा कोठामा ताला लगाएर एक्लै निस्किएका थिए।
लामो समयसम्म ढोका नखुलेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे। साँझ ढोका खोलेर हेर्दा बेडमा सुस्मिताको शव भेटिएको थियो। शवको छेवैमा रेडबुलको बट्टा पनि भेटिएकाले नशालु पदार्थ खुवाएर हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
हाल फरार रहेका थापाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। उनी केही समयअघि मात्रै जापानबाट आएको र सुस्मिता पनि उतै जाने तयारीमा रहेको बुझिएको छ।