धनगढी: अस्ति कंचनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल निर्माण कम्पनीले पहुँच मार्ग भत्कायो। कुमार सिएफइसी जोइन्ट भेन्चरले बुधबार महाकाली पुल वारिपारि दुवैतर्फ पहुँच मार्ग भत्काएको हो।
कम्पनीले दुवैतर्फ पुलको पहुच मार्ग भत्काउँदा भीमदत्त–दोधाराचाँदनी यातायात सेवा सञ्चालनमा अवरोध पनि भयो। तर यो विवाद अझै रोकिएको छैन।
विवादकै कारण सडक र पुल निर्माण अलपत्र पर्ने देखिएको छ। सडक अवरुद्ध भएको दिन कम्पनीका इन्जिनियर किशोर पाण्डेयलाई प्रहरीले पुलबाटै नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएरपछि छाडेको थियो।
ठेकेदार कम्पनीले सडक बनाउन नखोज्दा विवाद उत्पन्न भएकोमा प्रहरीसम्मै कुरा पुगेको हो। सो निर्माण क्षेत्र भीमदत्त ११ मा पर्दछ।
जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका भूपेन्द्र क्षेत्रीले पुलदेखि गड्डाचौकीसम्म दायाबाया वाईवास निर्माण गरिएको तर गड्डाचौकीमा निर्माण नगरेपछि वाईपासको भने माग गरिएको बताए। ठेकेदार कम्पनीले आफ्ना स्वार्थ पूरा नहुने देखेर विवाद झिकेको उनको दाबी छ। पुल निर्माण कम्पनीले धेरै टाढाबाट वाईपास दिन खोजेपछि विरोध भएको स्थानीयको भनाई छ।
त्यसअघि चार लेनको पक्की पुल निर्माण जिम्मा पाएको कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले गड्डाचौकीमा जारी बाधा अड्चन नखुले पुल बन्द गर्ने चेतावनी दिएको थियो। ४ पुस ०८१ मा निर्माण कम्पनीले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अड्चन खोल्न आग्रह गरेको थियो।
त्यसपछि ९ पुस ०८१ मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजीकरणका लागि पत्राचार गरिएको थियो। पत्रमा गड्डाचौकीदेखि दक्षिण दुई सय मिटर निर्माण सुरु गर्दा अवरोध भएकोले आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरिएको थियो।
गड्डाचौकीमा उत्पन्न अवरोधबारे दुई चरणमा छलफल पनि भयो, स्थानीयसहित जनप्रतिनिधिको रोहोबरमा वार्ता भयो, तर निष्कर्षमा अझै पुगेको छैन।
पुलको काम लगभग सकिनैलाग्दा पनि अहिले विवाद आएर महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल तथा पहुँच मार्ग निर्माणको काम रोकिएको छ। जसको ‘भेरिएसन’ पनि नभएको बताइन्छ।
गत भदौमा आएको बाढीले महाकाली पुल आयोजनाअन्तर्गत निर्माण भएको पोखरीको गाइडबन्ड (बाँध) बगाएको थियो। भीमदत्त नगरपालिकातर्फ भत्काएको गाइडबन्ड अझै पुनर्निर्माणको काम अघि बढेको छैन।
भेरिएसन नगरिएपछि निर्माण कम्पनीले दबाब दिन महाकाली पुलमा आवागमन बन्द गरेको जनाएको छ। बुधबार पुलको दुवैतर्फ खनेर पुलको एकतर्फी लेन भएर हुने आवागमन बन्द गरिएको थियो।
वि.सं. २०७४ सालमा निर्माण सुरु भएको पुल आयोजनाको ५ पटक म्याद थप गरिएको छ। गत कार्तिकमा सकिएको म्याद फेरि थपका लागि प्रक्रिया जारी रहेको आयोजनाले जनाएको छ। त्यसबाहेक पुलसँगै निर्माण गर्नु पर्ने ८ किलोमिटर पहुँचमार्गमध्ये गड्डाचौकीमा २ सय मिटर मात्रै बाँकी छ।