काठमाडौं: गृह मन्त्रालयले सोमबार सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ। मन्त्रालयको निर्णयअनुसार काठमाडौंसहित सात जिल्लाका सिडिओ समेटिएका छन्।
धर्मेन्द्र मिश्रलाई कैलालीबाट सुनसरी सरुवा गरिएको छ भने गोगनबहादुर हमाललाई कैलालीको सिडिओको जिम्मेवारी दिइएको छ।
त्यस्तै, काठमाडौंको सिडिओमा गृह मन्त्रालयका ऋषिराम तिवारीलाई खटाइएको छ। अन्य जिल्लामा तुलसी बहादुर श्रेष्ठलाई सर्लाही, इन्द्रदेव यादवलाई मोरङ, गोपाल कुमार अधिकारीलाई झापा, र शावित्रा पुनलाई सल्यानको सिडिओ तोकिएको छ।
गृह मन्त्रालयका अनुसार यो सरुवा प्रशासनिक सुधार र जिल्लाहरूमा शान्ति सुरक्षाको सुदृढीकरणका लागि गरिएको हो।
सरुवापछि सम्बन्धित सिडिओहरूले चाँडै आफ्नो कार्यक्षेत्र सम्हाल्ने गृह मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments Box