काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’का प्रहरी हौँ भन्दै लुटपाट गरेको आरोपमा तीनना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा नुवाकोट घर भएका २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोक घर भएकी ३२ वर्षीया मिनसाङ लामा उर्फ अनिता र काभ्रेको तेमाल घर भएका २२ वर्षीय लाल बहादुर तामाङ छन्।
उनीहरुमाथि ‘सीआईबीका प्रहरी हौँ’ भनेर एकजना महिलालाई भक्तपुरमा नियन्त्रणमा लिएर लुटपाट गरेको आरोप छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपीहरुको साथबाट ३४६.०१० ग्राम लिक्विड सुन बरामद गरिएको छ।
पक्राउ परेका सुजन नेपाली पूर्व प्रहरी जवान रहेको खुलेको छ। उनी ४ महिनाअघि प्रहरी वृत्त महराजगञ्जबाट बर्खास्तीमा परेको बताइएको छ।
पुस १४ मा दुबईबाट आएकी एकजना महिलालाई गठ्ठाघरमा नियन्त्रणमा लिएर उनीहरुले सानोठिमीस्थित प्रहरी प्रभागमा लगेका थिए।
उनीहरुले ट्याक्सिमा लगेर बिचबाटोमा सुन लुटेर छाडेको खुलेको छ। पक्राउ परेकामाथि प्रहरी थप अनुसन्धान गरिरहेको छ।