धनगढी: नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री, प्रदेश सभा सदस्य रमेशसिंह धामीले संसदीय दलको नेता फेरबदलको सहमति कार्यान्वयन नभएको विषय पार्टी केन्द्रीय समिति बैठकमा उठाएका छन्।
काठमाडौँमा जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा सहभागी हुँदै धामीले सुदूरपश्चिममा दलको नेता परिवर्तनसम्बन्धी विगतमा भएको सहमति र केन्द्रीय निर्देशनको अवज्ञा भएको बताए।
“२०७८ असार ३ गते पार्टी अध्यक्ष, प्रदेश इन्चार्ज, सहइन्चार्ज, प्रदेश अध्यक्ष र १० जना प्रदेशसभा सदस्यहरूको बैठकमा सहमति भएको थियो। तर, त्यो कार्यान्वयन भएको छैन,” धामीले भने, “पार्टीबाट दुई पटक परिपत्र भएको भए पनि सहमति र निर्देशन कार्यान्वयन भएन। यसलाई तुरुन्त कार्यान्वयन गर्नुपर्छ।”
नेताहरूबीच विवाद कायमै
गत वर्ष माघमा बहुमत प्रदेशसभा सदस्यहरूले स्थायी समिति सदस्यसमेत रहेका खगराज भट्टलाई दलको नेताबाट हटाएर मानबहादुर धामीलाई नेता चयन गरेका थिए। तर, उक्त निर्णयपछि माओवादीभित्र विवाद चर्किएको थियो।
माओवादी केन्द्रले खगराज भट्टलाई नै दलको नेतामा कायम गर्न दुई पटक परिपत्र गरे पनि यो निर्णय अझै लागू भएको छैन। हाल प्रदेशसभा सदस्यहरू दुवै पक्षमा समान रूपमा विभाजित छन्। सोही क्रममा दल नेता धामीको विपक्षमा रहेका धामीले नै सो कुरा उजागर गरेका हुन्।
यस्तै केन्द्रीय समिति बैठकमा धामीले अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनलाई पूर्ण समर्थन जनाएका छन्। उनले प्रतिवेदनलाई समाजवादी गणतन्त्रमा रूपान्तरणको प्रस्थानविन्दुका रूपमा उल्लेख गर्दै पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
सुदूरपश्चिममा संसदीय दलको नेतासम्बन्धी विवाद चाँडो समाधान नभए पार्टीभित्रको असमझदारी झन् गहिरिने खतरा देखिएको छ।