काठमाडौं: नेपाली सेनाको उपरथीमा सहायक रथी नकुल रायमाझीलाई बढुवा गर्ने निर्णय भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त एक उपरथी पदमा रायमाझीलाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
उपरथी प्रदीपजंग केसी रथीमा बढुवा भएपछि रिक्त स्थानमा रायमाझीलाई बढुवा गरिएको हो।
रायमाझीलाई उपरथीमा बढुवा गर्नका लागि नेपाली सेनाले गत मंसिरमै ७ दिने सूचना प्रकाशित गरेको थियो। उनीउपर कुनै उजुरी नपरेपछि बढुवाका लागि सिफारिस गर्दै रक्षा मन्त्रालयमा पठाइएको थियो।
तर रक्षा मन्त्रालयले केहीदिनअघि मात्रै बढुवाको फाइल मन्त्रिपरिषदमा पेश गरेपछि आज निर्णय भएको हो। हालका सहायक रथीहरूमा उनी वरिष्ठ हुन्।
यस्तै नेपाली सेनाको सहायक रथीमा दीपेन्द्र गुरुङ र सुनीलसिंह राठौर बढुवा भएका छन्। बरियताक्रम अनुसार महासेनानी गुरुङ र राठौरलाई सहायक रथीमा बढुवा गर्ने निर्णय भएको हो।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाले उनीहरूलाई सहायक रथीमा बढुवा गर्न सिफारिस गरेको थियो।
नेपाली सेनाका सहायक रथी प्रेमबहादुर पुन र नकुल रायमाझी उपरथीमा बढुवा भएपछि दुईजना सहायक रथीमा बढुवा गरिएको हो।