काठमाडौं: राजस्व संकलनमा गडबडी गरेको गुनासोपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मोरङ, बाँके, धनुषा, र बाराका प्रमुखसहित १५ अधिकारीलाई हेडक्वाटर झिकाएर कडा चेतावनी दिएको छ। उनीहरूलाई सुधारको मौका दिँदै पुनः सम्बन्धित बाहिनीपतिको जिम्मामा फिर्ता गरिएको छ।
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी कुमार न्यौपानेका अनुसार मोरङका एसपी विश्व खड्का, बाँकेका एसपी बिमल डाँगी, धनुषाका एसपी दर्शन गिरी, र बाराका एसपी सन्तोष बहादुर सिंहलाई प्रधान कार्यालयले झिकाएको थियो। बाराका प्रमुख विदामा भएकाले त्यहाँबाट डीएसपी र इन्स्पेक्टर उपस्थित भएका थिए।
यस क्रममा राजस्व संकलनमा कमीको कारण पत्ता लगाउन बारम्बार छलफल गरिएको थियो। अन्ततः १५ दिनभित्र सुधार गर्न निर्देशन दिँदै उनीहरूलाई फिर्ता पठाइएको प्रवक्ता न्यौपानेले बताए।
मोरङका अधिकारीहरूलाई एसएसपी मनिस थापा, धनुषा र बाराका अधिकारीहरूलाई डीआईजी कालिदास धौबजी, र बाँकेका अधिकारीहरूलाई डीआईजी प्रदीपकुमार पालको जिम्मामा पठाइएको छ।
गत वर्ष फागुनमा नियुक्त भएका जिल्ला प्रमुखहरूले सामान्यतः एक वर्षपछि मात्र सरुवा हुने प्रावधान छ। तर, राजस्व संकलनमा देखिएको गडबडीका कारण यो कदम चालिएको हो। चारवटै जिल्लाका बीओपी प्रमुखहरूलाई पनि प्रधान कार्यालयमा झिकाएर चेतावनी दिइएको छ।
प्रधान कार्यालयले यो कदमलाई सुधारको प्रयासको रूपमा लिएको बताउँदै, आगामी दिनमा राजस्व संकलनलाई थप प्रभावकारी बनाउने योजनामा जोड दिएको छ।
यस्तै सबै प्रदेशका बाहिनीपतिलाई पनि आइजीपीले राजस्व संकलन, सीमा सुरक्षा र चोरी, तस्करी र पैठारी रोक्न सक्त निर्देशन दिएका छन्। यस अगाडि केही बाहिनीपती, निमित्त बाहिनीपती पनि हेडक्वाटर तानिएकोमा केरकारमा परेका थिए। अहिले पनि उनीहरूलाई निगरानीमा राखेको बताइएको छ।
र, यो पनि: सीमावर्ती प्रदेशका सशस्त्रका हाकिम हेडक्वाटरको निशानामा