कैलाली– वैशाख ३० अर्थात भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगका अनुसार मतदान विहान ७ बजेदेखि हुनेछ । अपराह्न ५ बजेसम्म हुने मतदानपछि मतगणनाको प्रक्रिया सुरु हुन्छ।
देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउनका लागि निकै कसरत गरिएको छ । मतदानदेखि मतगणनालाई सुरक्षित बनाउने विषयमा बढी ध्यान दिइएको छ । सुदूरुपश्चिममा प्रदेशका सबै पालिकामा मतगणना हुने स्थान छनोट भइसकेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार प्रदेशका अधिकांश मतगणनास्थलमा सीसीटीभीको व्यवस्था गरिएको छ ।
प्रदेशको सबैभन्दा बढी मतदाता भएको जिल्ला कैलालीको निर्वाचनलाई भने निकै महत्वका साथ हेरिएको छ । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका पनि कैलालीमै भएका कारण यहाँको निर्वाचनलाई बढी महत्वका साथ हेरिएको हो ।
जिल्लाका १३ ओटै स्थानीय तहमा हुने मतगणना स्थलमा पनि सीसीटीभी जडान गरिएको छ । धनगढीको मतगणना उपमहानगरपालिकाकै नयाँ भवनमा बनाइएको छ । जिल्लाका सबै स्थानीय तहमा सुरक्षा र पारदर्शी गणनालाई मध्यनजर गरी सीसीटीभीको व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले बताए । मतगणना स्वच्छ बनाउनका लागि सीसीटीभी क्यामरा जडान गरिएको उनले बताए ।
उनले कैलालीसहित प्रदेशका प्रायः अधिकांश मतगणनास्थलमा सुरक्षालाई ध्यान दिँदै सीसीटीभी जडान गरिएको बताए ।