धनगढी: बझाङमा भएको जिप दुर्घटनामा मृत्यु भएकाहरूको परिचय खुलेको छ। जिल्लाको तलकोट गाउँपालिकास्थित धमेना नजिकै जीप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएकोमा उनीहरूको परिचय खुलेको हो।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार दुर्घटना हुँदा मृत्यु भएका ३ जनाको सनाखत भैसकेको छ। यस्तै दुर्घटनामा परेर १ बालिका गम्भीर घाइते भएकी छन्।
मृत्यु हुनेमा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी धामी र केदारस्यु गाउँपालिकाका ३३ वर्षीय जीप चालक सम्शेर मल्ल रहेका छन्। दुर्घटनामा बम बहादुर धामीकी ६ वर्षीया छोरी आकृति धामी गम्भीर घाइते भएकी छन्।
से १ ज ८४३ नम्बरको जीप बिहीबार साँझ तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा धमेनामा दुर्घटना भएको हो। जीप करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
घाइते आकृतिलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल चैनपुर ल्याइएको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्।
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। जीपमा जम्मा चार जना सवार थिए। दुर्घटनाको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ।
र, यो पनि: बझाङमा राति जिप खस्यो, चालक मल्लसहित ३ जनाको मृत्यु, एक गम्भीर