बाजुरा: बाजुरामा सहुलियतको नुन किन्नका लागि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको छ। साल्ट ट्रेडिङ कर्पोरेशन बाजुराका कार्यालय प्रमुख टेक बोहराका अनुसार नुनको अत्यधिक खपत र दुरुपयोग रोक्न २०८१ मङ्सिरदेखि यो व्यवस्था लागू गरिएको हो।
जिल्लामा सरकारले प्रत्येक नागरिकलाई नागरिकताको आधारमा वार्षिक चार केजी सहुलियतको नुन वितरण गर्दै आएको छ। तर, सहुलियतको नुन जिल्ला बाहिर पठाउने र जिल्लामा अभाव देखिएको गुनासो बढेपछि सर्वपक्षीय बैठकमार्फत यो नियम लागू गरिएको हो।
नयाँ व्यवस्थाले नागरिकलाई सहुलियतको नुन पाउन थप प्रक्रिया पूरा गर्नुपर्ने भएको छ। बडीमालिका–७ का हरिचन्द्र पाध्यायले यो नियम सर्वसाधारणका लागि झन्झटिलो भएको बताएका छन्। उनले गाउँबाट बाहिर बसोबास गर्नेहरूलाई नुन किन्न वडा कार्यालयको सिफारिस लिन र त्यसपछि डिपोमा जानुपर्ने हुँदा खर्च र समय दुबै बढेको गुनासो गरे।
सहुलियतको नुन प्रतिकिलो नौ रुपैयाँमा बिक्री हुने गरेको छ। यस व्यवस्थाले नुनको दुरुपयोग रोक्ने उद्देश्य राखेको भए पनि सर्वसाधारणले थप सहजता खोजेका छन्।