धनगढी: उर्मिला काफ्ले। जो हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छिन्। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १६ मंसिरमै अछामको पञ्चदेवल विनायक नगरपालिकामा सरुवा गरेको थियो । तर, सरुवा भएको एक महिना बितिसक्दा पनि उनी अछाममा हाजिर भएकी छैनिन्।
काफ्ले आजका दिनसम्म पनि जीतपुरसिरमरा उपमहानगरपालिकाकै कार्यालयमा कार्यरत छिन्। अछाम आउन नमानेपछि मन्त्रालयले २ पटक उनलाई सरुवा भएको स्थानमा जान ध्यानाकर्षण पत्र पठाइसकेको छ।
पहिलोपटक पुस १२ मा अछामको बिनायक पञ्चदेवल नगरपालिकामा पुगेर कामकाज सम्हाल्न मन्त्रालयले पत्र पठाको थियो। तर काफ्लेले टेरिनन्। मन्त्रालयले त्यसपछि पुनः २२ पुसमा उनलाई सरुवा भएको स्थानमा रमाना हुन पत्र पठायो।पछिल्लो पटक पठाएको रमनापत्र अनुसार पनि उनी अछाम नपुगे विभागीय कारवाही गर्ने सन्देश मन्त्रालयले काफ्लेलाई पठाइसकेको छ।
तर, काफ्लेले भने जीतपुरसिमरामा अर्को प्रमुख प्रशासकीय अधिकृत नपठाएको र आफुलाई नियतबस सरुवा गरेको भन्दै सरुवा भएको स्थानमा नजाने आशय व्यक्त गरेकी छन्।