काठमाडौं: नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट २ करोड २१ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा दुईजना बहालवाला र दुईजना अवकाशप्राप्त सैनिक अधिकारीविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
सेनाका सहायक रथी (ब्रिगेडियर जनरल) रोशन खड्का र सेनानी (मेजर) बोधराज कार्कीलाई सैनिक हिरासतमा राखेर छानबिन भइरहेको सेनाले जनाएको छ। आन्तरिक छानबिन (कोर्ट अफ इन्क्वायरी) मार्फत हिनामिनामा संलग्नता देखिएपछि उनीहरूविरुद्ध कोर्ट मार्सलको प्रक्रिया अघि बढाइएको हो।
उता, अवकाशप्राप्त जमदार आत्मराम थापा र सेनानी लक्ष्मण अधिकारीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंको अनुसन्धानपछि आपराधिक विश्वासघात मुद्दा दायर गरिएको छ। थापा प्रहरी हिरासतमा छन् भने अधिकारी अमेरिका फरार रहेको खुलेको छ।
२०७३ सालदेखि २०७५ सालसम्म सेनाको कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखा मा कार्यरत रहँदा ती चारजनाले मिलेमतोमा काल्पनिक नामका व्यक्तिहरूलाई देखाएर चेकमार्फत रकम निकासी गरेको छानबिनले देखाएको छ।
आरोपितहरूले २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ सम्म १४४ थान चेक प्रयोग गरी १ करोड ४७ लाख २१ हजार रुपैयाँ र २०७३ फागुन ९ देखि २०७५ असोज १७ सम्म ४० वटा चेक प्रयोग गरी ४७ लाख ६४ हजार रुपैयाँ हिनामिना गरेको आरोप छ।
अमलदार पदबाट अवकाशप्राप्त आत्मराम थापाले उक्त कार्य आफूले सहायक रथी रोशन खड्का, सेनानी बोधराज कार्की र सेनानी लक्ष्मण अधिकारीको निर्देशनमा मात्रै गरेको बयान दिएका छन्। उनले भुक्तानी भइसकेको रकम ती वरिष्ठ अधिकारीहरूलाई बुझाएको दाबी गरेका छन्।
सैनिक ऐनअनुसार बहालवाला सैनिकहरूमाथि सेनाले नै कारबाही गर्ने प्रावधान छ भने अवकाशप्राप्तहरूमाथि मुलुकी अपराध संहिता, दफा २५२ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ। सो दफाअनुसार कसुर प्रमाणित भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
सेनाले आन्तरिक छानबिनको ४३ पृष्ठ लामो रिपोर्टसहित प्रमाणहरू प्रहरीलाई बुझाएको जनाएको छ।