काठमाडौं– स्थानीय तहको निर्वाचन आज हुँदैछ । स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि शुक्रबार देशभर एकसाथ मतदान गरिँदैछ । विहान ७ बजेदेखि सुरु हुने मतदानका लागि निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको जनाएको छ ।
मतदानमार्फत जनताले शुक्रबार जम्मा ३५ हजार २२१ जनामध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् । हालसम्म निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेरजम्म ३९० जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् ।
यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट निर्धारण गरिएका छन् । जहाँ एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार ५५ हजार ६९८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख नौ हजार ८८ जना कर्मचारी र ६५ हजार ८६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा खटिएका छन् । निर्वाचनमा जम्मा ६५ वटा राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले सबै पक्षसँग सहयोगको आग्रह गरेको छ ।