काठमाडौं: गएराति बसेको मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन संशोधनसहित तीनवटा अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आर्थिक गतिविधि सहज बनाउन केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ।
सरकारले निर्माणक्षेत्रका केही अप्ठ्याराहरु हटाउन अध्यादेश ल्याएको जनाएको छ। गएराति नै भूमि र लगानीसम्बन्धी अध्यादेशबारे निर्णय गरिएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका थिए।
प्रधानमन्त्री आली कानुनमन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्यालसहित राष्ट्रपति कार्यालय पुग्नु र राति क्याबिनेट राखिनुलाई राजनीतिक दल विभाजन सम्बन्धी ऐन २०७३ संशोधनका लागि अध्यादेश जारी हुने रुपमा हेरिएको थियो।
सरकारले सरकारी सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने उद्देश्यले अध्यादेश ल्याउन लागिएको बताएको छ। गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई नेपालमा रहँदा १० वर्षसम्म भिसा निःशुल्क गर्न लागिएको छ।
सरकारले श्रमिकहरूको अवकाश उमेर बढाएर ६० वर्ष पुर्याएको छ। तर, निजामती विधेयक संसदीय समितिमा विचाराधीन छ। कर्मचारीको अवकाश उमेर कति वर्ष बनाउने भन्ने सम्बन्धमा चर्को मत भिन्नता छ।