धनगढी: सुदूरपश्चिम प्रदेशमा प्रहरी कर्मचारीहरूले आत्महत्या प्रयास गर्ने घटनाहरू बढिरहेका छन्। पछिल्लो पटक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैँमाथि गोली हानेर आत्महत्याको प्रयास गरेका थिए।
उनले पौष १२ गते आफैंलाई गोली हानेकोमा घाइते भएका थिए। उक्त घटनापछि न्यौपाने गम्भीर घाइते भएकोमा छन् बाँकेको कोहलपुरस्थित मेडिकल कलेज उपचार गरिएको थियो।
यो घटना भन्दा ठीक एक महिना अघि, मङ्सिर १३ गते अछामको तुर्माखाद गाउँपालिका-३ स्थित भैरवस्थान प्रहरी चौकीका इन्चार्ज असई किसनबहादुर चन्दले मदिरा सेवनपछि आफैँलाई गोली हानेका थिए। चन्दको घटनापछि उनी राजीनामा दिएर घर हिंडेका थिए।
एक महिनाको अवधिमा सुदूरपश्चिममा मात्रै दुई जना प्रहरी कर्मचारीले आत्महत्याको प्रयास गरेका हुन्। यस्तै, अन्य प्रदेशहरूमा पनि यस्ता घटनाहरू दोहोरिएका छन्। अलिक समय पहिले संघीय संसद् भवनमा कार्यरत प्रहरी जवान अजित गोले, दाङको तुलसीपुरमा कार्यरत सशस्त्र प्रहरी बसन्त केसी, रौतहटका प्रहरी जवान लालबाबु चौहान, र अन्य थुप्रै प्रहरी कर्मचारीले आत्महत्या गरेका वा प्रयास गरेका घटनाहरू बाहिरिएका थिए।
पछिल्लो समय यस्ता घटना बढ्नुमा प्रहरी कर्मचारीहरूले कार्यस्थलमा सामना गर्नुपर्ने मानसिक तनाव, पारिवारिक दूरी, र कठोर कानूनी जिम्मेवारी, मदिरा सेवनजस्ता कारण रहेको सुरक्षा विज्ञहरुको भनाई छ।
यस्तै झण्डै ६०% प्रहरी कर्मचारी ऋणको चपेटामा परेको, कम आम्दानी भएका कारण पनि उनीहरूमा निराशा पैदा भएको बताइन्छ।जसलाई व्यवस्थापन गर्न पछिल्लो समय मनोपरामर्श र तालिममार्फत कार्यक्रम अगाडी बढाइएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ। उता विशेषज्ञहरूले भने प्रहरी संगठनभित्र कामको चाप व्यवस्थापन, मनोपरामर्शको प्रभावकारी व्यवस्था, र कर्मचारीहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्न सरकारलाई दबाब दिएका छन्।
आत्महत्या रोक्न समाजमा महत्वपूर्ण भूमिका खेल्ने प्रहरी कर्मचारी आफैं यस्तो कदम उठाउन थालेपछि यो विषय थप गम्भीर बन्दै गएको छ।