धनगढी: कैलालीको धनगढी उप-महानगरपालिकामा १२ ग्राम ४६० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पीआइटी, र धनगढीको लागूऔषध व्युरोको प्रहरी टोलीले माघ ६ गते अपराह्न २ बजे धनगढी उप-महानगरपालिका वडा नं. २ भन्सार ब्यारेल क्षेत्रमा शंका लागेर सु.प.प्र.०२००३ प ६११५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।
मोटरसाइकलमा सवार कैलालीको उत्तरवेहडीका २४ वर्षीय अनिल लामा तामाङ र झलारीका १८ वर्षीय नविन कुमार ऐरको साथबाट १२ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, सोही दिन अपराह्न १ बजे धनगढी उप-महानगरपालिका वडा नं. १ अस्पताल रोडमा डडेल्धुराको अजयमेरु गाउँपालिका–५ घर भई हाल धनगढीमा बस्दै आएका २० वर्षीय निरञ्जन पन्तलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।