काठमाडौं: नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता रहेका १४ जना प्रहरी कर्मचारीलाई खोजी गर्न निर्देशन जारी गरेको छ। विभिन्न समयमा आफूखुशी गैरहाजिर भएका ती कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन अल्टिमेटम दिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार बेपत्ता हुने कर्मचारीमा जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रहरी हवल्दार रघुनाथ हजाम, प्रहरी चौकी थेचम्बुका प्रहरी सहायक हवल्दार धनबहादुर कार्की, ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी सहायक निरीक्षक चेतन महतरा, र मुख्यालय सञ्चार निर्देशनालयका प्राविधिक प्रहरी जवान कृष्ण गिरीलगायत छन्।
त्यस्तै, प्रहरी विपद् व्यवस्थापन कार्यालयका प्रहरी जवान मित्र योञ्जन, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी जवान रुपक साउद, सिंहदरबार सुरक्षा गणका प्रहरी जवान खेमराज राना, प्रहरी बैण्ड शाखा जनकपुरधामका असलम मिया भाड, ईलाका प्रहरी कार्यालय नवलपुरका दिलिपकुमार साहलगायतका नाममा पनि सूचना जारी गरिएको छ।
प्रहरी प्रधान कार्यालयले बेपत्ता प्रहरी कर्मचारीलाई तोकिएको अवधिमा उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम कारबाही गरी सेवाबाट हटाउने चेतावनी दिएको छ।
प्रहरी संगठनमा अनुशासन र जवाफदेहिता कायम राख्न मुख्यालयले गैरहाजिर प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढाएको हो।