धनगढी: अछामको ढकारी गाउँपालिका–८ पल्सातामा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको खुलासा भएको छ। शनिबार साँझ ढकारी गाउँपालिका–८ की १५ वर्षीया सरस्वती खड्का र उनकी भदै १४ वर्षीया इश्वरी खड्का ढकारी गाउँपालिकाकै–१ स्थित छिन्ने जंगलमा मृत फेला परेका थिए।
प्रहरीले अहिलेसम्म घटनामा संलग्न भएको आशंकामा हालसम्म झन्डै आधा दर्जनलाई नियन्त्रणमा लिएको छ। अछाम प्रहरी स्रोतका अनुसार १७ वर्षीय एक किशोरले मृतकमध्ये एक किशोरीलाई बिहेका लागि दबाब दिएका थिए। तर, किशोरीले अस्वीकार गरेपछि उनलाई भीरबाट खसालेर हत्या गरिएको हुनसक्ने बताइएको छ।घटनालाई अर्की किशोरीले देखेपछि उनलाई पनि सोही प्रकारले हत्या गरिएको हुनसक्ने स्रोतको बुझाई छ।
यस प्रकरणमा पक्राउ परेकामध्ये किशोरीहरूको भिनाजु नाता पर्ने व्यक्ति पनि छन्। दुई जनालाई पहिले नै पक्राउ गरिएकोमा सोमबार थप तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
किशोरीहरूको शव भेरी अस्पताल, नेपालगञ्जमा पोस्टमार्टम गरिएको छ। पोस्टमार्टम रिपोर्ट अनुसार, किशोरीहरूको टाउकोमा गम्भीर चोट लागेको र एक किशोरीको मेरुदण्ड भाँचिएको पाइएको छ। बलात्कार भएको आशंका भएकाले स्वाब परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशाला, काठमाडौं पठाइएको छ।
दुवै किशोरी शुक्रबार बाख्रा चराउन जंगल गएका थिए। शनिबार दिउँसोसम्म सम्पर्कमा नआएपछि परिवारले खोजी गर्दा जंगलमा करिब १६ मिटरको दूरीमा उनीहरूको शव फेला परेको थियो।
प्रहरीले घटनाको गहिरो अनुसन्धान जारी राखेको जनाएको छ।
र, यो पनि: अछामको जङ्गलमा किशोरी मृत फेला प्रकरण: २ जनालाई समातेर अनुसन्धान हुँदै