धनगढी: अछामको ढकारी गाउँपालिका-८ पलसाटाकी १४ वर्षीया ईश्वरी खड्का र सरस्वती खड्काको रहस्यमय मृत्यु घटनामा अनुसन्धान जारी छ। प्रहरी अनुसन्धान गरिरहेको सो घटना रहस्यमय देखिन्छ। शनिबार दुबैको शव जंगलमा फेला परेको थियो। दुवै किशोरीका शव छिन्ने भीर भन्ने स्थानमा भेटिएका हुन्। परिवारका अनुसार उनीहरू शुक्रबार बिहान बाख्रा चराउन निस्केका थिए तर बेलुका घर फर्केनन्।
शनिबार दिउँसो माछा मार्न गएका स्थानीयले ढकारी गाउँपालिका-१ स्थित भीरमा शव देखेपछि घटना सार्वजनिक भएको हो। मृतक किशोरीका आफन्तले शवहरू क्षतविक्षत अवस्थामा भेटिएको बताएका छन्। अनुहारमा गहिरो चोट, शरीरमा नीलडाम, र रगतले लतपतिएको ढुंगा घटनास्थलमा फेला परेको छ।
परिवारको आरोप, गाउँमा शोक
ईश्वरी र सरस्वती नातामा फुपू-भदैनी पर्थे। परिवारले यो घटनालाई हत्या भएको आशंका गर्दै २ जना शंकास्पद व्यक्तिको नामसहित प्रहरीमा उजुरी दिएका छन्। घटनाले पीडित परिवार र गाउँमा शोकको वातावरण छ।
जिल्ला प्रहरी कार्यालय अछामले घटनाको गम्भीरताका साथ अनुसन्धान थालेको छ। दुई शंकास्पद किशोरलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन्। किशोरीहरूले प्रयोग गर्ने मोबाइल घटनास्थलमा फेला परेको छ, जसको प्राविधिक विश्लेषण भइरहेको छ।
दुवै किशोरीको शव भेरी प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ। प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारणबारे थप स्पष्ट हुने विश्वास छ।
र, यो पनि: अछाम घटना: विवाह प्रस्ताव नकार्दा भीरबाट खसालेर हत्या ? देखेपछि अर्की पनि लपेटिइन् !
अछामको जङ्गलमा किशोरी मृत फेला प्रकरण: २ जनालाई समातेर अनुसन्धान हुँदै