धनगढी: अछाममा गाेठालाे गएका बेला दुई जना किशोरी मृत अवस्थामा भेटिएको रहस्यमय घटनाकाे अनुसन्धान जारी छ। जिल्ला प्रहरी कार्यालय अछामले अनुसन्धान गरिरहेकोमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट पनि थप टोली खटाइएको छ।
प्रहरी स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नरेन्द्र भण्डारीको नेतृत्वमा टोली खटाइएको हो। जसमा एकजना पोलिग्राफ गर्ने असई पनि छन्। यस्तै प्रदेश प्रहरी प्रमुख डीआईजी गणेश चन्द पनि आज सोही सिलसिलामा अछाम जाने कार्यक्रम छ।
अस्तिमात्रै ढकारी गाउँपालिका-१ काे छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएको थियो। सोही घटनाकाे अनुसन्धानका लागि टाेली परिचालन गरिएका हुन्।
जिल्ला प्रहरी कार्यालयले किशोरी मृत्युको घटनामा अहिलेसम्म ११ वर्षदेखि ४० वर्षसम्मका ५ जनालाई नियन्त्रणमा लिएको छ भने झण्डै आधा दर्जन मानिसको बयान लिइएको बताइन्छ।
त्यस्तै हालसम्म ७ जनाका नाममा जाहेरी पनि परेको प्रहरीले जानकारी दिएको छ। शनिबार बाख्रा चराउन गएका दुवै किशोरी बेपत्ता भएका थिए। खाेजी गर्ने क्रममा दुवै जना आइतबार मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीकाअनुसार घटनाको अनुसन्धानमा प्रहरीले तीव्रता दिएको छ।
डीएसपी भण्डारीले घटना हत्या वा भवितव्य के हाे ? अहिले नै भन्न सकिने अवस्था नरहेको बताए। भण्डारीले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे(सीआईबी) सँग पनि सहयाेग लिइरहेकाे बताए।
मृतकहरुको भेरी प्रादेशिक अस्पतालमा शव परीक्षण गरिएको छ तर रिपोर्ट आउन बाँकी छ। उनीहरूको शव मंगलबार अछाम ल्याइने प्रहरीले जनाएको छ ।
प्रहरीले तालिमप्राप्त कुकुरकाे प्रयाेग गरेर पनि अनुसन्धान गरिएको जनाएको छ। मृतकका आफन्तले घटना शंकास्पद रहेकाले गहिराे अनुसन्धान हुनुपर्ने माग गरेका छन्।
ढकारी गाउँपालिका–८ की एक किशोरीले शुक्रबार दिउँसो करिब २ बजेको समयमा शव भेटिएको विपरीत डाँडाबाट ५ जनाले ढुंगा खसाल्दै गरेको देखेपछि अनुसन्धान त्यसतर्फ मोडिएको छ। मृतक इशरा खड्का र सरस्वती खड्काको शव १५ मिटरको दुरीमा रहेको थियो। घटनास्थलबाट करिब ५ सय मिटरमाथि रक्ताम्मे ठाउँ देखिएको स्थानीयले प्रहरीलाई जानकारी गराएपछि घटना थप रहस्यमय बन्दै गएको छ।