धनगढी: बोलन्या थलीद्वारा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय अभ्यास अदालत प्रतियोगिता २०८१ को उपाधि महेन्द्र माध्यमिक विद्यालय, महेन्द्रनगर कञ्चनपुरले जितेको छ। एलायन्स इन्टरनेसनल विद्यालय, धनगढी दोस्रो स्थान हासिल गर्न सफल भयो भने धनगढी नमूना माध्यमिक विद्यालय तेस्रो स्थानमा रह्यो।
माघ १६ र १७ गते कैलाली बहुमुखी क्याम्पसमा सम्पन्न यस प्रतियोगितामा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, र बझाङका १० विद्यालयका १९ समूह सहभागी थिए। तीमध्ये १७ समूहले लिखित बहस नोट चरण पार गरे भने १३ समूहले बहस चरण पूरा गरे।

प्रतियोगितामा विभिन्न शीर्षकमा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट बहस नोट पुरस्कार धनगढीस्थित CCS+2 विद्यालयले प्राप्त गर्यो भने ‘Team Spirit’ पुरस्कार घोडाघोडी सामुदायिक माध्यमिक विद्यालय, सुखडले जित्यो। प्रतियोगिताको उत्कृष्ट वक्ताको उपाधि धनगढी नमूना माध्यमिक विद्यालयकी छात्रा शर्मिला धनुकले जितिन्।

एक्सीस विद्याश्रमको सहकार्य र Dejure Institute of Law को प्रयोजनमा सम्पन्न यो प्रतियोगिता सुदूरपश्चिम प्रदेशको कानुनी शिक्षाको क्षेत्रमा ऐतिहासिक मानिएको छ। प्रतियोगितामा प्रारम्भिक चरणका न्यायाधीशको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास अदालत प्रतियोगितामा सहभागी भइसकेका कानून अध्ययनरत विद्यार्थी, कानून व्यवसायी, र विज्ञहरू उपस्थित थिए।
प्रतियोगिताको आयोजक समितिमा कैलाली बहुमुखी क्याम्पस कानून संकायका पहिलो र तेस्रो सत्रका विद्यार्थी थिए। आयोजकहरूका अनुसार यो प्रतियोगिता कानून अध्ययनरत विद्यार्थीहरूका लागि व्यवहारिक ज्ञानको उत्कृष्ट अवसर बनेको छ।