काठमाडौं: सशस्त्र प्रहरी बल (एपीएफ)की प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का इन्स्पेक्टरविरुद्ध जाहेरी परेको छ।
तनहुँस्थित सशस्त्रकाे मनकामना गणमा कार्यरत एक जना पुरुष इन्स्पेक्टरविरुद्ध कास्की प्रहरीमा किटानी जाहेरी परेको हो। ती इन्सपेक्टरले सन्तोषीलाई आत्महत्या गर्न बाध्य पारेको पीडित परिवारको आरोप छ।
हालै इन्सपेक्टरमा नाम निकालेर तालिमको लागि पोखरा पुगेकी सन्तोषी शनिबार राति ब्यारेकमै मृत भेटिएकी थिइन्। उनी सोही सेवामा कार्यरत इन्सपेक्टरसँग प्रेम सम्बन्धमा रहेको बुझिएको छ।
सशस्त्र प्रहरी मुख्यालयले यस घटनाको अनुसन्धान गर्न डिआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेकाे छ। समितिले पोस्टमार्टम रिर्पोटबाट अध्ययन शुरु गरिसकेकाे बताइएको छ।
सशस्त्र प्रहरी बल (एपीएफ)मा कार्यरत इन्स्पेक्टर सन्तोषी महतको शङ्कास्पद मृत्युबारे प्रहरीले थप अनुसन्धान थालेको छ। शनिवार राति पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा इन्स्पेक्टर महत झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनी सशस्त्र प्रहरी जवान र असई हुँदै इन्स्पेक्टर भएकी थिइन्।