धनगढी: मंगलबार राति धनगढीको ट्राफिक चौराहमा ड्युटीमा रहेका प्रहरीमाथि चक्कु प्रहार गर्ने प्रयास भएको छ।
राति करिब ८:१५ बजेको समयमा एक युवक हातमा चक्कु लिएर “हरहर महादेव” भन्दै सडकमा हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले उल्टै प्रहरीमाथि दौडेर चक्कु प्रहार गर्न खोजेका थिए।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा प्रहरी उनीलाई नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गर्दै चक्कु प्रहारको प्रयास गरेको देखिन्छ।
प्रहरी स्रोतका अनुसार, प्रहरीमाथि आक्रमण गर्न खोज्ने युवक ३६ वर्षीय टेकबहादुर टमटा हुन्, जो धनगढी उपमहानगरपालिका–१४ का बसिन्दा हुन्। उनलाई मंगलबार राति नै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा टमटा मानसिक रूपमा अस्वस्थ रहेको जनाएको छ। तर, घटनाबारे औपचारिक जानकारी भने अझै सार्वजनिक गरिएको छैन।