काठमाडौं: कैलाली कारागारले देवबहादुर सिंह उर्फ दीपकबहादुर सिंहलाई काठमाडौं सुन्धारास्थित केन्द्रीय कारागार सरुवा गरेको छ।
कैलाली कारागारमा सेटिङ मिलाएर घर हुँदै नेपालबाट १२ वर्षअघि भारतरर्फ भागेका सिंहलाई कैलाली प्रहरीले माघ ३० मा दिल्लीबाट समातेर ल्याएको थियो।
मुम्बई क्राइम ब्रान्चको सहयोगमा दिल्लीबाट कैलाली प्रहरीको टोलीले उनलाई समातेर ल्याई सार्वजनिक गरिएको थियो। पक्राउलगत्तै कैलाली प्रहरीले जिल्ला कारागार कैलाली बुझाइएका सिंहलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको हो। कैलाली प्रहरी प्रमुख एसएसपी पदम विष्टका अनुसार शनिबार नै सिंहलाई हवाईजहाजमार्फत काठमाडौं पठाइएको हो।
सिंहलाई कैलाली कारागारमै राख्दा सुरक्षा चुनौती देखिएपछि उनलाई काठमाडौं पठाइएको हो। ०६४ फागुन २४ मा गोदावरी–७ का युवा बमबहादुर साउदको गोली हानी हत्या गरेको अभियोगमा उनलाई कैलाली जिल्ला अदालतले ०६७ मंसिर २७ मा सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
त्यसपछि कारागारमा कैद भुक्तान गर्दै गरेको अवस्थामा भागेपछि उनलाई कैलाली प्रहरीले ‘मोस्टवान्टेड’ सूचीमा राखेर खोजिरहेकोमा दिल्लीबाट नेपाल ल्याइएका हुन्।
हाल ४८ वर्ष पुगेका उनले भारतमा समेत विभिन्न अपराध गरेकामा त्यहाँ पनि जेलमा बसेका थिए। त्यसपछि उता जेलबाट छुटेकोमा नेपाल ल्याइएका हुन्।
कैलालीको गोदावरी नगरपालिका–११ ओलानी घर भएका ठकुरीको अपराधयात्राको फेहरिस्त भने लामै छ। उनले भारतमा आफ्नै दाईलाई मारेको बदलामा नेपालमा भतिजाको हत्या गरेका थिए, सोही केसमा उनलाई सर्वस्वसहितको कैद फैसला भएको थियो।
त्यसपछि जेलमा रहेका उनले तत्कालीन समयमा धनगढी जेलको प्रहरीको इन्चार्ज भने सई ललितबहादुर लगायत प्रहरीलाई मिलाएर भागेका थिए।
यस्तै उनलाई भगाउन सहयोग गरेको आरोपमा कैलाली जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी नायब निरीक्षक (सई) लोकबहादुर बोहरा, हवल्दार गणेश चन्द र जवान दिलबहादुर टमटाविरुद्ध पनि मुद्दा दायर भई अदालतमा मुल्तबीमा रहेको छ। उनीहरू पनि भारतमा लुकेर बसेकोमा प्रहरीले उनीहरू पनि नियन्त्रणमा आउने बताएको छ।
उता ठकुरीलाई भने कारागार पठाएर अहिले प्रहरीले थप अनुसन्धान अघि बढाइएको छ। अहिले ठकुरीविरुद्ध प्रहरीले थप एक मुद्धा आकर्षित भएको जनाएको छ। उनीमाथि जेलबाट भागेको समेत मुद्दा चल्ने जनाइएको हो।
अपहरण, हत्या तथा हतियारसम्बन्धिका मुद्दावाला ठकुरीले कैलाली कारागारबाट भागेपछि भारतमा लुकेका सिंहले उता पनि लुटपाट तथा चाेरीका काण्ड गरेकाे सुरक्षा स्रोत बताउँछ।
र, यो पनि: ‘मोस्टवान्टेड’ ठकुरी: दाई मारेको बदलामा हत्या, जेलको सेटिङमै घर प्रहरी लगेर भागेका थिए भारत
धनगढी जेलबाट भागेका कुख्यात ठकुरी वर्षौपछि प्रहरीको फन्दामा, यस्तो छ क्राइम हिस्ट्री