डडेल्धुरा: नेपाली काँग्रेस डडेल्धुराले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विजय सुनिश्चित गर्न बैतडीका ५० जना विद्यार्थीलाई प्रति व्यक्ति एक हजार रुपैयाँ दिने योजना बनाएको खुलासा भएको छ।
सामाजिक सञ्जालमा भाइरल अडियो क्लिपमा कांग्रेसका स्थानीय नेताहरूले बैतडीका विद्यार्थीलाई आर्थिक प्रलोभन दिएर नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष पदका उम्मेदवार गौरव ऐरलाई जिताउने योजना बनाएको खुलेको हो।
अडियोमा के छ?
भाइरल अडियोमा कांग्रेसका स्थानीय नेताहरूबीचको संवाद सुन्न सकिन्छ। एक नेताले भन्छन्, “स्वतन्त्रका भोट जसले खिच्यो, उसले जित्छ। बैतडीका ५० जना विद्यार्थीलाई एकएक हजारका दरले दियो भने कुल्ल, फटाफट भोट हाल्छन्। एक छाक्की सागै सही। विद्यार्थीलाई रुप्याँ चाहिन्छ।”
त्यस्तै, अडियोमा कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवार कर्ण धामीको प्रभाव कम गर्न र मतदातालाई प्रभावित पार्न सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीलाई डडेल्धुरा ल्याउने योजना बनाएको पनि सुनिन्छ।
नेताहरूको रणनीति
अडियोका अनुसार कांग्रेस नेताहरूले हरिसिंह धामीलाई डडेल्धुरा ल्याउन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय भानु देउवा र पूर्वमन्त्री एनपी साउँदलाई दबाब दिने योजना बनाएका छन्। त्यति मात्र होइन, नेताहरूले यी उच्च नेताहरूसँग भेट गर्न मिठाइको डिब्बा लगेर जाने गरेको समेत अडियोमा उल्लेख छ।
यस घटनापछि अन्य राजनीतिक दलका विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन्। स्वतन्त्र उम्मेदवार धामीका समर्थकहरूले यो कदमलाई लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेपको संज्ञा दिएका छन्।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) को समर्थन रहेको संयुक्त प्यानलका उम्मेदवार मदन बोहराका कार्यकर्ताहरूले पनि पैसाको चलखेलले स्ववियु निर्वाचनलाई अस्वस्थ प्रतिस्पर्धातर्फ धकेल्ने बताएका छन्।
यो घटनाले विद्यार्थी राजनीतिमा आर्थिक प्रभावको गम्भीर बहस जन्माएको छ।